प्रदीप खड्का
काठमाडौं । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–३ ले काठमाडौंमा रहेका वडावासीलाई लक्षित गरी सामाजिक सुरक्षा भत्ता नवीकरण तथा व्यक्तिगत घटना दर्तासम्बन्धी दुईदिने शिविर हिजो देखि आज सम्म सञ्चालन गरिएको छ ।
वडा कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार हिजो २९ र आज ३० गतेसम्म शिविर जारी रहनेछ। शिविर काठमाडौं जडीबुटीस्थित अरनीको बसपार्कमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।
शिविरमार्फत सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुका साथै व्यक्तिगत घटना दर्तासम्बन्धी सेवा प्रदान गरिने छ । काठमाडौंमा बसोबास गरिरहेका चम्पादेवी गाउँपालिका–३ का वडावासीलाई आफ्नै ठाउँमा पुगेर सेवा लिन सहज होस् भन्ने उद्देश्यले शिविर आयोजना गरिएको वडा कार्यालयले जनाएको छ ।
वडा कार्यालयका अनुसार सामाजिक सुरक्षा भत्ता नवीकरण तथा व्यक्तिगत घटना दर्ताका लागि आवश्यक कागजातसहित तोकिएको मिति र स्थानमा उपस्थित हुन सेवाग्राहीलाई आग्रह गरिएको छ ।
शिविर चम्पादेवी गाउँपालिका–३ नम्बर वडा कार्यालय, कालिका, ओखलढुंगाको आयोजनामा सञ्चालन हुन लागेको हो। वडा अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा सचिव रोशन तामाङलाई सम्पर्क गरी शिविर तथा सेवासम्बन्धी थप जानकारी लिन सकिने सूचनामा उल्लेख छ ।
काठमाडौंमा रहेका वडावासीलाई स्थानीय तहसम्म पुग्नुपर्ने झन्झट कम गर्दै सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तासम्बन्धी सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो ।