काठमाडौं । नेकपा एमालेपछि सत्ता साझेदार दल नेपाली कांग्रेसले पनि उपसभामुख इन्दिरा रानालाई हटाउन हस्ताक्षर संकलन थालेको छ । राना राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्बाचित उपसभामुख हुन ।
काङ्ग्रेसका सांसद सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेर धमाधम राना हटाउने अभियानका साथ हस्ताक्षर गरिरहेका छन । हस्ताक्षरअघि नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको थियो ।
प्रतिनिधिसभामा एमालेका कुल ८९ सांसदमध्ये मोहन बस्नेत निलम्बनमा छन ।
अहिले कांग्रेस सांसदको संख्या ८८ रहेको छ । उपसभामुख इन्दिरा रानाले आफूसहित पाँच जनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन लेखेको पत्रको विषयमा आफ्नो पदीय मर्यादा बिर्सेको भन्दै नैतिकतामाथि प्रश्न उठाउँदै हटाउन प्रस्ताव लैजाने सत्ता गठबन्धनले तयारी गरेका हुन ।
उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले हाल संवैधानिक परिषदमा सरकार अल्पमतमा छ । संबैधानिक परिषदमा कांग्रेसको प्रतिनिधित्व शून्य रहेकाले रानामगरलाई हटाएर काङ्ग्रेसबाट उपसभामुख बनाउने प्रयास यसअघि पनि भएको थियो ।