बेद प्रसाद घिमिरे
काठमाडौ । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बसाइ र सुविधाबारे विभिन्न टिप्पणी भइरहेका बेला गृहमन्त्री रमेश लेखकले बुधबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा प्रष्ट पार्नुभएको छ
कारागारमा लामिछानेलाई न्यूनतम सुविधासमेत नदिएको आरोप भइरहेका सन्दर्भमा, लेखकले भौतिक पूर्वाधार अभाव र बजेटको सीमितताका कारण चाहेजति सुधारका काम गर्न नसकिएको बताउनुभयो।
लेखकका अनुसार १५–१६ जनाका लागि बनाइएको कोठामा कतिपय अवस्थामा ३०–३५ जना कैदीबन्दी बस्नुपर्ने अवस्था छ, जसका कारण स्वास्थ्य समस्या, मानसिक तनाव र आपसी विवादजस्ता चुनौतीहरू देखापर्ने गरेका छन्।
देशभरका कारागारमा एउटै कोठामा केवल एक वा दुई कैदी मात्र बस्ने अवस्था निकै कम हुने बताउँदै, लेखकले धेरैजसो कोठामा १०–१५ भन्दा बढी कैदीबन्दी बस्ने गरेको जानकारी दिनुभयो।
पूर्व गृहमन्त्री लामिछानेलाई कारागार स्थानान्तरणको प्रक्रिया अघि बढेको उल्लेख गर्दै, लेखकले अदालतको अनुमति प्राप्त भइसकेको र सुरक्षालगायतका सबै पक्ष विचार गरेर मात्र अन्तिम निर्णय हुने जानकारी दिनुभयो।
सुविधाबारेको विवादमा, लेखकले लामिछानेलाई न्यूनतम सुविधाबाट बञ्चित नगरिएको स्पष्ट पार्नुभयो। गृहमन्त्रीका अनुसार, जेल सानो भए पनि उनलाई अलग कोठामा राखिएको छ र कारागार प्रशासनले बेला–बेला समस्या बारे सोध्ने गरेको छ। विशेष सुविधा दिएको अवस्था पनि नभएको प्रष्ट पार्नुभयो।