सिन्धुली । नेपाली कांग्रेस दुधौली नगरपालिका कार्यसमिती सिन्धुलीले दुधौली नगरपालिकाका मेयर तथा माओवादी केन्द्रका नेता दिनेश अधिकारी दनुवार बिरुद्ध बालिकालाई जबरजस्ती करणीको आरोपमा परेको मुद्वाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
दुधौली नगरपालिका सभापती बलराम कार्कीले बिज्ञप्ति मार्फत पछिल्लो समय सामाजिक संजाल तथा सञ्चार माध्यममा दुधौली नगरपालिकाका मेयर दनुवार विरुद्ध प्रहरीमा मुद्वा दायर गरेको भएपनी शक्तिकेन्द्रको आडमा मुद्वामाथिको अनुसन्धानमा ढिलासुस्ती भएको भन्दै तसो नगर्न चेतावनी दिएका छन ।
बिज्ञप्तिमा जननिर्वाचित जस्तो उत्तरदायी सस्थामा बस्ने ब्यक्ति नेपालको प्रचलित कानुन, मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जबरजस्ती करणी जस्तो जघन्य कसुरमा जोडिनु दु:खद बिषय हो । यस सम्बन्धी जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा परेको किटानी जाहेरीको निष्पक्ष अनुसन्धान गरि छानबिनको माग गर्दछौ बिज्ञप्तिमा भनिएको छ ।
केही दिन अगाडी दुधौली नगरपालिकाका मेयर दनुवारले १८ वर्षिया एक बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दर्ता भएको थियो । प्रहरी कार्यालयमा जाहेरी दर्ता भएसगै मेयर दनुवार मोबाइल अफ गरेर फरार छन । उनी माओवादी केन्द्रबाट निर्वाचित मेयर हुन ।