ग्यास ब्यबसायी संघको आन्दोलनका कारण बजारमा ग्यासको अभाव

    
ग्यास ब्यबसायी संघको आन्दोलनका कारण बजारमा ग्यासको अभाव

 काठमाडौ ।  ग्यास उद्योगहरुको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघले आजदेखि आन्दोलन सुरु गरेको छ । जसअनुसार संघले आजदेखि भारतबाट ग्यास आयात गर्न आवश्यक पर्ने पीडीओ (प्रडक्ट डेलिभरी अर्डर) खरिद बहिष्कार गरेका छन ।  ग्यासको अभाव बजारमा देखिन थालिसकेको छ ।

पीडीओ खरिद नगर्दा भारतबाट ग्यास आयात हुँदैन । ग्यास आयात नभए सिलिण्डरमा ग्यास रिफिलिङ (भर्ने काम) हुँदैन र बजारमा आपूर्ति हुँदैन । नेपाल आयल निगमको विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र धनगढीस्थित डिपो कार्यालयबाट पीडीओ जारी हुने गरेको छ । सामान्य दिनमा ८० देखि १ सयवटासम्म पीडीओ जारी हुने भए पनि आइतबार कतिवटा जारी भयो त्यो साँझ ६ बजेमात्र तथ्यांक सार्वजनिक हुन्छ ।

सबैभन्दा बढी अर्थात ७० प्रतिशत पीडीओ वीरगञ्जबाट जारी हुने गरेको छ ।तर, उद्योगीहरुले भने आज पीडीओ खरिद नगरेको जानकारी दिएका छन् । सरकारले १५ दिनको लागि आन्दोलन स्थगित गराएर पनि शनिबारसम्म उठाइएको माग पूरा गर्न कुनै चासो नदेखाएको भन्दै संघले आजदेखि पीडीओ नउठाउने आन्दोलन घोषणा गरेका हुन् । अत्यावश्यक वस्तुमा सरकारले आन्दोलन गर्न नपाउने गरी निषेध गरेको छ ।

खाना पकाउने ग्यास अत्यावश्यक वस्तुभित्र पर्छ । ‘सरकारले गत माघ ३० गते घोषित आन्दोलन १५ दिनको लागि फिर्ता गराएको थियो, आवश्यक माग पूरा गर्छौ भनेर,’ संघका अध्यक्ष शिव घिमिरेले भने,‘तर वार्ता गर्न र माग सम्बोधन गर्ने बिषयमा आजसम्म सरकारले कुनै चासो नदेखाएकाले पूर्व घोषित कार्यक्रमअनुसार आजदेखि पीडीओ वहिस्कार गरी आन्दोलनमा ओर्लेका छौं ।