बेद प्रसाद घिमिरे
२८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गर्नु भयो आगामी ०८४ सालको निर्वाचनसम्म अहिलेको राजनीतिक समीकरण यथावत रहनेछ ।
बुधबार प्रतिनिधिसभा बैठकमा समसामयिक विषयमा आफ्ना धारणा राख्दै प्रधानमन्त्री ओलीले भन्नु भयो, “मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौं र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔं भनेर संसद्का दुई प्रमुख दलहरू मिलेर, अन्य दलहरूको समेत सहयोगमा यो सरकार बनेको हो।”
प्रधानमन्त्रीले प्रश्न गर्नु भयो, “तर, विपक्षमा रहेका दलहरूलाई स्थिरता कति अप्रिय लागेको हो ? प्रमुख दल कांग्रेस र एमाले मात्रैको संसद्मा भारी बहुमत छ, त्यसमाथि अन्य दलहरू समेत यस सरकारमा सहभागी छन् । सरकार बनाउने संसद्को गणितले हो, तर बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर अस्थिरताका लागि हल्ला पिटिरहनेजस्तो अस्थिरताको यो पक्षपोषण के-का लागि ?”
प्रधानमन्त्री ओलीले स्पष्ट पार्दै भन्नु भयो, “देशका लागि, राजनीति र नीतिगत स्थिरताका लागि त यो पक्कै होइन, र हुन सक्दैन । अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ।”