युवराज झा
काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका राधा मोहन प्रसाद जैसवाललाई प्रहरीले बिहीबार दिउँसो काठमाडौंको सिनामंगल क्षेत्रबाट पक्राउ गरेको छ ।
गौशाला प्रहरी वृत्तका अनुसार जैसवाललाई बाटो हिँडिरहेका अवस्थामा फेला पारिएको हो । प्रहरीको विशेष निगरानी र अनुसन्धानपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक (डीएसपी) सुकदेव खनालले जानकारी दिए ।
मधेश प्रदेशको रौतहट जिल्लाको माधव नारायण नगरपालिका–१ निवासी जैसवालविरुद्ध बैंकिङ कसूर मुद्दामा पक्राउ अनुमति काठमाडौं जिल्ला अदालतबाट जारी भएको थियो ।
फरार रहेकाले उनले विदेश भाग्न सक्ने सम्भावना रहेको भन्दै गौशाला प्रहरी वृत्त अन्तर्गतको अपराध अनुसन्धान तथा कारबाही शाखाले राहदानी विवरण माग गर्दै राहदानी विभागमा पत्राचारसमेत गरेको थियो ।
हाल जैसवाललाई आवश्यक अनुसन्धान प्रक्रिया पूरा गरी अदालतमा पेश गर्ने तयारी भइरहेको डीएसपी खनालले बताए ।